नेपालमा वायु प्रदूषण नियन्त्रणका लागि विश्व बैंकको करिब ६ अर्ब ९० करोड सहुलियतपूर्ण ऋण

शेयर गर्नुहोस् 0 Shares

काठमाडौं। विश्व बैंक ले नेपालमा वायु प्रदूषण न्युनिकरण र वायु गुणस्तर व्यवस्थापन प्रणाली सुदृढ बनाउन ५ करोड २० लाख अमेरिकी डलर (करिब ६ अर्ब ९० करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ।

विश्व बैंकको बोर्ड बैठकले ‘नेपाल स्वच्छ वायु र समृद्धि परियोजना’ कार्यान्वयनका लागि उक्त रकम स्वीकृत गरेको हो। परियोजनाको मुख्य उद्देश्य औद्योगिक तथा व्यावसायिक क्षेत्रमा प्रयोग हुने बोयलर र भट्टीबाट निस्कने हानिकारक सूक्ष्म कणको उत्सर्जन घटाउनु रहेको छ।

परियोजना विशेष गरी काठमाडौं उपत्यका, तराई क्षेत्र तथा पहाडी फेदीका उच्च जोखिमयुक्त स्थानहरूमा कार्यान्वयन गरिने विश्व बैंकले जनाएको छ।

विश्व बैंकका अनुसार नेपालमा वायु प्रदूषणका कारण स्वास्थ्य उपचार खर्च र उत्पादकत्वमा आएको कमीले कुल गार्हस्थ्य उत्पादनको ६ प्रतिशतभन्दा बढी आर्थिक भार सिर्जना गर्दै आएको छ। प्रस्तावित परियोजनाले उक्त आर्थिक भार घटाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

परियोजनाअन्तर्गत उद्योगहरूलाई सहुलियतपूर्ण ऋण तथा प्राविधिक सहयोग प्रदान गरिनेछ। यसबाट उद्योगहरूको सञ्चालन खर्च घट्नुका साथै प्रतिस्पर्धात्मक क्षमता पनि बढ्ने विश्वास गरिएको छ।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि डिभिजन निर्देशक डेभिड सिस्लेन ले औद्योगिक उत्सर्जन आगामी वर्षहरूमा वायु प्रदूषणको प्रमुख स्रोत बन्ने देखिएको भन्दै यो परियोजनाले नेपाली उद्योगहरूलाई स्वच्छ उत्पादनतर्फ उन्मुख गराउँदै दीर्घकालीन दिगो विकासमा टेवा पुर्‍याउने बताउनुभयो।

 

विश्व बैंकका अनुसार यो परियोजना ‘इन्डो–ग्याङ्गेटिक प्लेन्स एण्ड हिमालयन फुटहिल्स’ क्षेत्रीय वायु गुणस्तर व्यवस्थापन कार्यक्रमको एक हिस्सा हो।

ट्यागहरू: Main Heading Two मुख्य विश्व

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्