झलनाथ खनाललक्षित प्रचण्डको टिप्पणी–‘प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन्’

शेयर गर्नुहोस् 0 Shares

 

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टीभित्रैबाट प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी जनतामा निराशा बाँड्ने काम भइरहेको आरोप लगाउनुभएको छ। पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बुझाएको ३६ बुँदे आरोपपत्रलाई लक्षित गर्दै संयोजक दाहालले यस्तो टिप्पणी गर्नुभएको हो।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै संयोजक दाहालले वरिष्ठ नेता खनाल प्रतिक्रियावादीसँग मिलेर पार्टीमा विचलन ल्याउन उद्यत रहेको गम्भीर आरोप लगाउनुभयो। उहाँले कम्युनिष्ट पार्टीहरूले इतिहासमा भोगेका उतारचढाव र अनुभवहरूलाई नबिर्सन समेत आग्रह गर्नुभयो।

केही दिनअघि नेता खनालले संयोजक दाहाललाई बुझाएको असन्तुष्टि पत्रमा वर्तमान नेतृत्वले पार्टी एकता, वैचारिक स्पष्टता र सङ्गठनात्मक पुनर्गठन गर्न नसकेको भन्दै गम्भीर प्रश्न उठाइनुभएको थियो। खनालले पार्टीको अन्तरिम विधानलाई 'सार–सङ्ग्रहवादी खिचडी विधान' को संज्ञा दिँदै यसबाट क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण हुन नसक्ने दाबी गर्नुभएको थियो।

नेता खनालको सोही आरोपपत्रको जवाफ दिँदै संयोजक दाहालले भन्नुभयो, "जानेर वा नजानेर हाम्रा कतिपय साथीहरूले समेत जनतामा निराशा बाँड्ने काम गर्दैछन्। फेरि एकचोटी जनतालाई लिएर हामी अघि बढ्छौँ भन्ने आत्मविश्वास राख्नुपर्नेमा, हामीले विगतका उतारचढावसँग लड्दै र जित्दै आएको इतिहास बिर्सिएर साम्राज्यवाद र प्रतिक्रियावादीले फैलाएको हल्लाअनुसार भ्रम छर्ने काम भइरहेको छ।"

सम्बोधनका क्रममा दाहालले इतिहासमा कम्युनिष्टहरूले धेरै चुनौती पार गरेको स्मरण गराउँदै पार्टीभित्रका असन्तुष्ट पक्षलाई संयमित हुन र प्रतिक्रियावादी शक्तिहरूलाई बल पुग्ने गरी निराशाको खेती नगर्न जोडदार अपिल गर्नुभयो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्