मधेश प्रदेशकै दोस्रो र सप्तरीकै पहिलो बालश्रम मुक्त नगर घोषित भयो खडक नगरपालिका

शेयर गर्नुहोस् 2 Shares

लहान, असार ४ गते । सप्तरीको खडक नगरपालिका मधेश प्रदेशको दोस्रो र सप्तरी जिल्लाकै पहिलो 'बालश्रम मुक्त नगरपालिका' घोषणा भएको छ । "हमर खडक नगरपालिका हमर गौरव: बालश्रम नै करु नै कराऊँ" भन्ने मूल नाराका साथ बुधबार खडक नगरपालिकाको सभाहल, कल्याणपुरमा आयोजित एक विशेष घोषणा सभाका बीच यो ऐतिहासिक घोषणा गरिएको हो ।

खडक नगरपालिकालाई बालश्रम मुक्त बनाउन स्थानीय सरकार, सेभ द चिल्ड्रेन (Save the Children), सबल नेपाल लगायतका सङ्घ-संस्थाहरूको संयुक्त प्रयास र साझेदारी रहेको थियो ।

नगर बाल क्लब सञ्जालका अध्यक्ष शिव शंकर मण्डलले सञ्चालन गर्नुभएको उक्त ऐतिहासिक घोषणा कार्यक्रम स्थानीय बाल अधिकार समितिकी संयोजक एवं नगर उप-प्रमुख रिता कुमारी चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि खडक नगरपालिकाका नगर प्रमुख (मेयर) जय प्रकाश चौधरी रहनुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिहरूका रूपमा विभिन्न वडाका वडाध्यक्षहरू राजेन्द्र प्रसाद चौधरी (वडा नं. १०), देव नारायण चौधरी (वडा नं. ३), विन्दु लाल चौधरी (वडा नं. ८), कार्यपालिका सदस्यहरू जत्री देव सरकार र प्रयागी देवी चौधरी, तथा वडा सदस्य मोहनी देवी चौधरी रहनुभएको थियो ।

यसैगरी, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुशिला कुमारी चौधरी, सेभ द चिल्ड्रेनका वरिष्ठ परियोजना प्रबन्धक मकर बहादुर सार्की र सबल नेपालका अध्यक्ष जुना गिरी लगायतको पनि विशिष्ट उपस्थिति रहेको थियो ।

कार्यक्रममा खडक नगरपालिकाका विभिन्न शाखा प्रमुखहरू, प्रशासनिक अधिकारीहरू, सञ्चारकर्मी तथा स्थानीय सामाजिक अभियन्ताहरूको ठूलो सङ्ख्यामा उपस्थिति थियो । प्रशासनिक शाखा प्रमुख रामाकान्त चौधरी, बाल कल्याण अधिकारी अनिता कुमारी साह, सामाजिक विकास शाखा प्रमुख मो. जाकिर हुसेन, र शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विरेन्द्र कुमार दास लगायतले नगरलाई बालश्रम मुक्त राख्न प्रशासनिक प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य महिला विकास निरीक्षक सुशिला कुमारी थारुले राख्नुभएको थियो भने प्रतिवेदन प्रस्तुति बाल कल्याण अधिकारी अनिता कुमारी साहले गर्नुभएको थियो ।

सञ्चार क्षेत्रबाट नेपाल पत्रकार महासङ्घ सप्तरीका पदाधिकारीहरू, महिला सहकारी संस्थाकी अध्यक्ष पुष्पलता थारु, जेष्ठ नागरिक सञ्जालका नगर अध्यक्ष सूर्य नाथ साह, मधेश प्रदेश बाल क्लब सञ्जालका अध्यक्ष निरज कुमार साह, नगर बाल क्लब सञ्जालका पदाधिकारीहरू र युवा अभियन्ताहरूले खडक नगरपालिकाको यो कदमको प्रशंसा गर्दै आगामी दिनमा यसको निरन्तरता र कार्यान्वयनमा पूर्ण ऐक्यबद्धता जनाएका छन् ।

स्थानीय सरोकारवालाहरूले खडक नगरपालिकाले बाल अधिकारको क्षेत्रमा एउटा उदाहरणीय र ऐतिहासिक काम गरेर देखाएको भन्दै अब यसलाई पूर्ण रूपमा व्यवहारमा उतार्न र निरन्तर अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्