कृषि तालिम केन्द्र द्वारा किसानका लागि अनलाइन आवेदन खुला / तालिममा सहभागीहरूलाई आवश्यक सामग्री, आवास तथा खाना समेत निःशुल्क

शेयर गर्नुहोस् 0 Shares

चितवन — बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेको कृषि तालिम केन्द्र, भण्डारा चितवनले कृषकस्तरका विभिन्न तालिममा सहभागिता जनाउन इच्छुक किसान तथा कृषि उद्यमीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ।

केन्द्रले चालु आर्थिक वर्षका लागि विभिन्न विषयगत तालिम सञ्चालन गर्न लागेको जनाएको छ। इच्छुक कृषक, उद्यमी तथा कृषि क्षेत्रमा संलग्न व्यक्तिहरूले केन्द्रको आधिकारिक अनलाइन पोर्टल मार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

यसका लागि आवश्यक निवेदन फारम, व्यक्तिगत विवरण तथा सिफारिससम्बन्धी कागजातहरू सम्बन्धित वेबसाइटबाट डाउनलोड गरी अनलाइनमार्फत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। आवेदन प्रक्रिया पूर्ण रूपमा डिजिटल प्रणालीमा आधारित रहेकोले सहभागीहरूलाई सहज भएको केन्द्रले जनाएको छ।

तालिम अन्तर्गत च्याउ खेती, फलफूल खेती, पुष्प खेती, कृषि मेशिनरी मर्मत तथा फलफूल–तरकारी प्रशोधन जस्ता विषय समावेश गरिएको छ। तालिमहरू काठमाडौँ, ललितपुर, धन्कुटा तथा हेटौँडा लगायतका स्थानमा सञ्चालन हुनेछन् भने अवधि ४ देखि ६ दिनसम्म रहनेछ।

सहभागी छनोट पछि मात्र तालिम मिति तय गरी जानकारी गराइने केन्द्रले जनाएको छ। साथै, तालिममा सहभागीहरूलाई आवश्यक सामग्री, आवास तथा खाना समेत निःशुल्क उपलब्ध गराइने व्यवस्था रहेको छ।

केन्द्रका अनुसार १८ देखि ४५ वर्ष उमेर समूहका युवा कृषकहरू आवेदन दिन योग्य हुनेछन् भने महिला, दलित तथा जनजाति समुदायलाई विशेष प्राथमिकता दिइनेछ।

अनलाइन प्रणालीमार्फत तालिम व्यवस्थापन गर्न “Training Management System (TMS)” समेत सञ्चालनमा ल्याइएको छ, जसले आवेदनदेखि छनोट प्रक्रियासम्म पारदर्शिता र सहजता ल्याउने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्