संघर्षबाट उक्लिँदै राष्ट्रिय राजनीतिमा स्थापित भएका सप्तरीका खगेन्द्र कर्ण प्रतिनिधिसभा सदस्य बन्न सफल
राजविराज १० चैत — संघर्षबाट उक्लिँदै राष्ट्रिय राजनीतिमा स्थापित भएका सप्तरीका खगेन्द्र कर्ण प्रतिनिधिसभा सदस्य बन्न सफल भएका छन्। कञ्चनरूप नगरपालिका–८, सर्वोदय टोल निवासी ४४ वर्षीय कर्ण मधेशी क्लस्टरअन्तर्गत समानुपातिक प्रणालीबाट संसद् प्रवेश गरेका हुन्।
सामान्य पारिवारिक पृष्ठभूमिमा हुर्किएका कर्णलाई उनका बुवा भूपेन्द्रनारायण कर्णले स्टेशनरी पसल सञ्चालन गरेर अध्ययनको अवसर जुटाएका थिए। प्रारम्भिक शिक्षा सर्वोदय माध्यमिक विद्यालय कञ्चनपुरबाट पूरा गरेका उनले पोखराबाट छात्रवृत्तिमा इन्टरमिडिएट इन्जिनियरिङ अध्ययन गरे भने काठमाडौंस्थित एक्मी इन्जिनियरिङ कलेजबाट स्नातक तह पूरा गरेका हुन्।
इन्जिनियरिङ अध्ययनकै क्रममा उनी २०६२/०६३ को लोकतान्त्रिक आन्दोलनमा सक्रिय रूपमा सहभागी भएका थिए। त्यसपछि विद्यार्थी राजनीतिमा प्रवेश गर्दै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)मा आवद्ध बनेका कर्ण संगठनभित्र विभिन्न जिम्मेवारी सम्हाल्दै पूर्वाञ्चल विश्वविद्यालय नेविसंघका संस्थापक अध्यक्षसम्म बने।
नेविसंघको ११औं महाधिवेशनमा उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरे पनि सफल हुन नसकेका कर्ण पछि नेपाल तरुण दलको केन्द्रीय सदस्यमा मनोनीत भएका थिए। उनले करिब तीन वर्ष उक्त जिम्मेवारी निर्वाह गरेका थिए।
करिब १५ वर्ष लामो कांग्रेस यात्रापछि हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका कर्णले आफ्नो राजनीतिक लक्ष्य देशको समृद्धि र जनताको समुन्नतिमा केन्द्रित रहेको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
