खडक नगरपालिकाको निःशुल्क आँखा उपचार अभियान : २१८ जनाको मोतिबिन्दु अप्रेसन

शेयर गर्नुहोस् 2 Shares

ओम प्रकाश यादव लहान असोज २ । खडक नगरपालिकाले नगरवासीको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरेको निःशुल्क आँखा उपचार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नगरपालिकाको आर्थिक सहयोग तथा सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको कार्यक्रम अन्तर्गत हालसम्म २१८ जना मोतिबिन्दुका बिरामीको सफलतापूर्वक अप्रेसन गरिएको छ ।

नगर प्रमुख जय प्रकाश चौधरी निर्वाचित भएपछि सुरु गरिएको यस अभियान अन्तर्गत नगरका विभिन्न वडाका नागरिकलाई निःशुल्क आँखा परीक्षण तथा मोतिबिन्दुको उपचार सेवा उपलब्ध गराउँदै आएको नगरपालिकाले जनाएको छ। कार्यक्रम अन्तर्गत वडा नम्बर ३ कन्चिरामा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरमा वडा नम्बर १, ३ र ४ का गरी १ हजार ५ सय जनाले आँखा परीक्षण गराएका थिए। परीक्षणका क्रममा ९८ जनामा मोतिबिन्दुको समस्या पहिचान भएको थियो। पहिचान भएका बिरामीमध्ये पहिलो चरणमा ५३ जनाको सफलतापूर्वक अप्रेसन गरिएको थियो भने दोस्रो चरणमा थप ४५ जना बिरामीको सफल अप्रेसन गरी असोज २ गते घर पठाइएको अस्पतालले जनाएको छ।

अप्रेसनपछि बिरामीहरूलाई अस्पतालमै पुगेर भेट्नुभएका खडक नगर प्रमुख जय प्रकाश चौधरी र वडा नम्बर ३ का अध्यक्ष देव नारायण चौधरीले बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै जुस वितरण गरेका थिए।नगरपालिकाले अप्रेसन गराएका बिरामीलाई सहज रूपमा घरसम्म पुर्याउन बसको समेत व्यवस्था गरेको थियो। उपचारपछि घर फर्किने क्रममा नगरपालिकाले गरेको यातायात व्यवस्थाले आफूहरूलाई थप सहज भएको सेवाग्राहीहरूले बताएका छन्।निःशुल्क आँखा उपचारसँगै अस्पतालसम्म ल्याउने, उपचारपश्चात् घर फर्काउने तथा आवश्यक व्यवस्थापनमा नगरपालिकाले सहयोग गरेपछि विपन्न, ज्येष्ठ नागरिक तथा आर्थिक रूपमा कमजोर परिवारका बिरामीलाई ठूलो राहत पुगेको सेवाग्राहीहरूको भनाइ छ।

अस्पतालका अनुसार खडक नगरपालिकाको सहयोगमा सञ्चालन भइरहेको अभियानबाट हालसम्म २१८ जना मोतिबिन्दुका बिरामीको अप्रेसन भइसकेको छ। त्यस्तै, १ हजार ५ सयभन्दा बढी नागरिकको आँखा परीक्षण गरिएको छ। नगर प्रमुख जय प्रकाश चौधरीले नगरवासीलाई आधारभूत स्वास्थ्य सेवा सहज र निःशुल्क रूपमा उपलब्ध गराउने उद्देश्यले आँखा उपचार कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताएका छन्। उनका अनुसार मोतिबिन्दुका कारण दृष्टि कमजोर भएका तथा आर्थिक अभावका कारण उपचार गराउन नसकेका नागरिकलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो। नगरपालिकाले आगामी दिनमा पनि यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छ।

नगर प्रमुख चौधरीले नगरका अन्य वडाहरूमा समेत निःशुल्क आँखा परीक्षण तथा उपचार शिविर विस्तार गर्ने योजना रहेको जानकारी दिएका छन्। उनका अनुसार यही असोज महिनाभित्र खडक नगरपालिकाका सम्पूर्ण वडामा आँखा शिविर सञ्चालन गर्ने लक्ष्य राखिएको छ। उनले स्वास्थ्य सेवा नागरिकको पहुँचसम्म पुर्याउनु स्थानीय सरकारको महत्वपूर्ण दायित्व भएको उल्लेख गर्दै आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले यस्ता कार्यक्रमलाई प्राथमिकता दिएको बताए।

निःशुल्क आँखा परीक्षण तथा मोतिबिन्दुको अप्रेसन सेवा पाएपछि सेवाग्राहीहरूले नगरपालिकाप्रति खुशी व्यक्त गरेका छन्। आर्थिक अवस्था कमजोर भएका तथा ज्येष्ठ नागरिकका लागि आँखाको उपचार खर्च जुटाउनु कठिन हुने अवस्थामा नगरपालिकाले निःशुल्क उपचारको व्यवस्था गरेपछि आफूहरूलाई ठूलो राहत मिलेको उनीहरूको भनाइ छ। नगरपालिकाको आर्थिक सहयोग र सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहकार्यमा सञ्चालन भइरहेको अभियानले नगर क्षेत्रका दृष्टिसम्बन्धी समस्या भएका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ।नगर प्रमुख जय प्रकाश चौधरीको नेतृत्वमा सुरु भएको निःशुल्क आँखा उपचार अभियानले उपचारमा आर्थिक पहुँच नभएका नागरिकलाई स्वास्थ्य सेवासँग जोड्नुका साथै स्थानीय तहबाट नागरिकको आधारभूत स्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्ने प्रयासका रूपमा निरन्तरता पाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्