खापानी टोलमा सडक नाटक र स्वच्छता र्‍याली, ‘स्वच्छता दैनिक व्यवहारमै उतार्नुपर्नेमा जोड’

असोज १, २०८३ · सिरहा टाइम्स

शेयर गर्नुहोस् 0 Shares
alt

ओम प्रकाश यादव, लहान असोज १ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत लहान नगरपालिका वडा न. २४ स्थित खापानी टोलमा सडक नाटक तथा स्वच्छता र्‍याली आयोजना गरिएको हो। समुदायमा सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्दै स्वच्छतालाई नागरिकको दैनिक व्यवहार र जीवनशैलीसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा स्थानीय युवा, महिला, बालबालिका तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

 WhatsApp Image 2026-09-17 at 6.50.21 PM

कार्यक्रमअन्तर्गत सहभागीहरूले स्वच्छता तथा स्वास्थ्यसम्बन्धी विभिन्न सचेतनामूलक नारासहित खापानी टोलमा र्‍याली निकालेका थिए। र्‍यालीले टोल तथा गाउँ परिक्रमा गर्दै स्वच्छ र स्वस्थ वातावरण निर्माणका लागि प्रत्येक नागरिक जिम्मेवार बन्नुपर्ने सन्देश प्रवाह गरेको थियो। र्‍यालीका क्रममा स्थानीयवासीलाई शौचालयको नियमित प्रयोग, व्यक्तिगत सरसफाइ, वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन तथा स्वस्थ जीवनशैलीका विषयमा सचेत गराइएको थियो। सरसफाइलाई घर वा व्यक्तिको व्यक्तिगत विषयका रूपमा मात्र नहेरी परिवार, समुदाय र समग्र समाजको साझा जिम्मेवारीका रूपमा अघि बढाउनुपर्नेमा जोड दिइएको थियो।

WhatsApp Image 2026-09-17 at 6.50.22 PM (1)

र्‍यालीपछि प्रस्तुत गरिएको सडक नाटकले स्थानीय परिवेश र दैनिक जीवनसँग जोडिएका विषयमार्फत सरसफाइसम्बन्धी सन्देश प्रभावकारी रूपमा प्रस्तुत गरेको थियो। नाटकमा शौचालयको नियमित प्रयोग, व्यक्तिगत स्वच्छता, वातावरण संरक्षण तथा खुला दिसामुक्त अवस्थाको दिगोपन लगायतका विषयलाई प्राथमिकताका साथ उठाइएको थियो। शौचालयलाई केवल भौतिक संरचनाका रूपमा नभई स्वास्थ्य, आत्मसम्मान र सामाजिक मर्यादासँग जोडिएको महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरिएको थियो।

WhatsApp Image 2026-09-17 at 6.50.28 PM (1)

नाटकमार्फत सरसफाइलाई व्यक्तिको मात्र जिम्मेवारी नभई परिवार, समुदाय र समाजकै साझा दायित्वका रूपमा लिनुपर्ने सन्देश दिइएको थियो। स्थानीय परिवेश, पात्र र संवादमार्फत प्रस्तुत गरिएको सडक नाटकले सहभागीलाई मनोरञ्जनसँगै व्यवहारिक रूपमा सरसफाइप्रति सचेत गराउने प्रयास गरेको थियो। कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले सडक नाटकजस्ता सिर्जनात्मक माध्यमबाट प्रस्तुत गरिने जनचेतनामूलक सन्देश समुदायका विभिन्न वर्गसम्म सहज र प्रभावकारी रूपमा पुर्‍याउन सकिने बताएका थिए। यस्ता कार्यक्रमले बालबालिका, युवा, महिला तथा ज्येष्ठ नागरिकलाई समेत सरसफाइप्रति जिम्मेवार बनाउन सहयोग पुग्ने उनीहरूको भनाइ थियो।

WhatsApp Image 2026-09-17 at 6.50.31 PM (2)

लहान नगरपालिकाका नगर प्रमुख महेशप्रसाद चौधरीले ‘घर–घरको शान, स्वच्छता अभियान’लाई सरसफाइमा मात्र सीमित नराखी नागरिकको सोच र व्यवहारमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले सञ्चालन गरिएको बताए। स्वच्छ तथा स्वस्थ नगर निर्माणका लागि भौतिक पूर्वाधार विकाससँगै नागरिकस्तरमा जनचेतना अभिवृद्धि र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उनले उल्लेख गरे।

WhatsApp Image 2026-09-17 at 6.50.29 PM (2)

अभियानमार्फत शौचालयको नियमित तथा दिगो प्रयोगलाई प्रोत्साहन गर्नुका साथै व्यक्तिगत र वातावरणीय सरसफाइलाई नागरिकको दैनिक जीवनशैलीको अभिन्न हिस्सा बनाउने लक्ष्य रहेको नगर प्रमुख चौधरीले बताए। उनका अनुसार सरसफाइ अभियान सफल बनाउन नगरपालिकाको प्रयास मात्र पर्याप्त हुँदैन। प्रत्येक घर, परिवार र समुदायले आफ्नो जिम्मेवारी निर्वाह गरे मात्रै स्वच्छ र स्वस्थ नगर निर्माण सम्भव हुन्छ। नागरिकको व्यवहारमा दीर्घकालीन परिवर्तन ल्याउन निरन्तर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको पनि उनले बताए।

WhatsApp Image 2026-09-17 at 6.50.30 PM (1)

लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’लाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ। नगरका विभिन्न वडा तथा टोलमा सडक नाटक, स्वच्छता र्‍याली, अन्तरक्रिया तथा अन्य जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै नागरिकको सहभागिता बढाउने नगरपालिकाको योजना छ। स्थानीय समुदायसँगको सहकार्य र नागरिकको सक्रिय सहभागितामार्फत स्वच्छ, स्वस्थ तथा व्यवस्थित लहान निर्माण गर्ने उद्देश्यले अभियानलाई थप प्रभावकारी बनाइने नगरपालिकाले जनाएको छ। सरसफाइलाई अभियान सञ्चालन हुने अवधिसम्म मात्र सीमित नराखी नागरिकको नियमित व्यवहार र जीवनशैलीसँग जोड्दै दीर्घकालीन रूपमा अघि बढाउने नगरपालिकाको लक्ष्य रहेको छ।

.singleRelatedNews a { font: 400 20px/32px 'Mukta', sans-serif; color: #00ba96; }

प्रतिक्रिया दिनुहोस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्