गोलबजारमा मधेस प्रदेशस्तरीय ब्ल्याक बेल्ट दीक्षान्त तथा अपग्रेडिङ कार्यक्रम सम्पन्न
भदौ २४, २०८३ · रहमुल
रहमुल सिरहा, २४ भदौ । सिरहाको गोलबजार नगरपालिका–चोहोर्वास्थित श्री सृजना सामुदायिक भवनमा आयोजना गरिएको मधेस प्रदेशस्तरीय ब्ल्याक बेल्ट दीक्षान्त तथा अपग्रेडिङ कार्यक्रम–२०८३ सम्पन्न भएको छ। भदौ २० गतेदेखि सुरु भएको उक्त कार्यक्रम जिल्ला समन्वय समिति (जिसस) सिरहाका प्रमुख दिनेश महतोको प्रमुख आतिथ्यमा समापन भएको हो। समापन समारोहमा जिसस सिरहाका उपप्रमुख दिलीप लामा विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
मधेस प्रदेशका आठवटै जिल्लाबाट करिब १३९ जना खेलाडी तथा प्रशिक्षार्थी सहभागी रहेको कार्यक्रममा खेलाडीहरूको ब्ल्याक बेल्ट दीक्षान्त तथा विभिन्न तहको स्तरवृद्धि (अपग्रेडिङ) गरिएको थियो। कार्यक्रममा सहभागी खेलाडी तथा प्रशिक्षार्थीलाई प्रमुख अतिथि महतो, नेपाल सितोरियो कराते संघका प्रमुख प्रशिक्षक महेश कुमार श्रेष्ठ लगायतका विशिष्ट व्यक्तिहरूले दीक्षित गरेका थिए।
कार्यक्रम अवधिभर कराते खेलसँग सम्बन्धित प्रशिक्षण, अनुशासन तथा स्तरवृद्धिका गतिविधिसँगै विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो। खेलाडीहरूको क्षमता, अनुशासन र खेलप्रतिको समर्पणलाई प्रोत्साहन गर्दै दीक्षान्त तथा अपग्रेडिङ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। समापन समारोहलाई सम्बोधन गर्दै अतिथिहरूले खेलकुदले युवामा अनुशासन, आत्मविश्वास, शारीरिक तथा मानसिक सक्षमता विकास गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। उनीहरूले कराते खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि नियमित प्रशिक्षण तथा यस्ता स्तरवृद्धि कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
चार दिनसम्म चलेको प्रदेशस्तरीय कार्यक्रममा मधेस प्रदेशका विभिन्न जिल्लाबाट सहभागी खेलाडी तथा प्रशिक्षार्थीहरूले आफ्नो खेल कौशल प्रदर्शन गर्दै ब्ल्याक बेल्ट तथा अपग्रेडिङको प्रक्रिया पूरा गरेका थिए। विभिन्न सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न कार्यक्रमले सहभागी खेलाडी तथा प्रशिक्षार्थीमा थप उत्साह र ऊर्जा प्रदान गरेको आयोजकको भनाइ छ।
.singleRelatedNews a { font: 400 20px/32px 'Mukta', sans-serif; color: #00ba96; }प्रतिक्रिया दिनुहोस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया दिनुहोस्
अहिले सम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
