विपद् प्रभावितलाई राहतका लागि भगवानपुर गाउँपालिकाले साढे ५ लाख रुपैयाँ सहयोग गर्ने
भदौ २८, २०८३ · सिरहा टाइम्स
रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबानबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष उग्रनारायण यादवको हस्ताक्षरमा जारी प्रेस विज्ञप्तिमार्फत गाउँपालिकाले रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा भदौ १० गते आएको प्राकृतिक विपद्का कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।
विपद्का कारण प्रभावित नागरिकप्रति गाउँपालिकाले समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा विस्थापित एवं पीडित परिवारको सुरक्षित पुनर्स्थापनाको कामना गरेको छ। विज्ञप्तिमा विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनामा स्थानीय सरकारको तर्फबाट सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको उल्लेख छ।
त्यसैगरी, सङ्घीय सरकारले गरेको निर्णय तथा आह्वान अनुसार भगवानपुर गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तलबबाट निर्धारित रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अनुसार स्थानीय तहबाट गरिएको आर्थिक सहयोग र कर्मचारीहरूको योगदानले विपद् प्रभावित जिल्लाका नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा केही भए पनि सहयोग पुग्ने विश्वास लिइएको छ। भगवानपुर गाउँपालिकाले विपद् प्रभावित नागरिकको दुःखमा स्थानीय सरकारको तर्फबाट ऐक्यबद्धता जनाउँदै राहत तथा पुनर्स्थापनाका कार्यमा आवश्यक सहयोग, समन्वय र सहकार्यका लागि आफू प्रतिबद्ध रहेको जनाएको छ।
साथै, विपद्को समयमा पीडित तथा प्रभावित नागरिकको उद्धार र राहतका लागि सहयोग गर्ने सरकारी तथा गैरसरकारी निकाय, संघ–संस्था, निजी क्षेत्र, राजनीतिक दल, नागरिक समाज तथा आम नागरिकप्रति गाउँपालिकाले आभार व्यक्त गरेको छ। गाउँपालिकाले देशका विभिन्न स्थानमा विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्न आ–आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्न सबैमा अपिल समेत गरेको छ।
.singleRelatedNews a { font: 400 20px/32px 'Mukta', sans-serif; color: #00ba96; }प्रतिक्रिया दिनुहोस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया दिनुहोस्
अहिले सम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
