घरमा चर्पी नहुँदा ज्यान जोखिममा : लहान नगरपालिकाको ‘घर–घरको शान, स्वच्छता अभियान’

भदौ ३१, २०८३ · सिरहा टाइम्स

शेयर गर्नुहोस् 0 Shares
alt

ओम प्रकाश यादव लहान भदौ ३१ । घरमा चर्पी नहुँदा ज्यान जोखिममा : लहान नगरपालिकाको ‘घर–घरको शान, स्वच्छता अभियान’ प्रभावकारी बन्दै, तर भूमिहीन सदाय समुदायलाई भने समस्या घरमा शौचालय नहुँदा खुल्ला ठाउँमा शौच गर्न जाँदा सर्पदंश, जंगली जनावरको आक्रमण तथा विभिन्न दुर्घटना र संक्रमणका कारण नागरिकले अकालमै ज्यान गुमाउनु परेका घटनाहरू नौलो होइनन्। यिनै सम्भावित जोखिम तथा दुर्घटनालाई मध्यनजर गर्दै सिरहाको लहान नगरपालिकाले यतिबेला नगर क्षेत्रभित्र ‘घर–घरको शान, स्वच्छता अभियान’ तीव्र बनाएको छ।

नगरपालिकाले आफ्ना कुनै पनि नागरिकले शौचालय नभएकै कारण अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ विगत दुई महिनादेखि २४ वटै वडामा सघन जनचेतनामूलक अभियान सञ्चालन गरिरहेको छ। गाउँ–गाउँ र टोल–टोलमा सडक नाटक, अन्तरक्रिया तथा प्रत्यक्ष संवादमार्फत घरमा चर्पी हुनुको महत्त्व र यसका बहुआयामिक फाइदाबारे स्थानीयलाई सचेत गराउने कार्य भइरहेको छ।

अभियानको सकारात्मक प्रभाव यतिबेला गाउँ–बस्तीमा स्पष्ट देखिन थालेको छ। जनचेतना फैलिएसँगै धेरै स्थानीयवासीहरूले आफ्नै अग्रसरतामा शौचालय निर्माण गरिसकेका छन् भने कैयौँ परिवार निर्माणको अन्तिम तरखरमा छन्।अभियानले नगरभरि उत्साह जगाए पनि विपन्न तथा सीमान्तकृत समुदायका लागि भने व्यवहारिक समस्या खडा भएको छ। मधेशकै सबैभन्दा विपन्न मानिने मुसहर (सदाय) समुदायको हकमा यो अभियान प्रभावकारी रूपमा कार्यान्वयन हुन चुनौती देखिएको छ।

दैनिक ज्याला–मजदुरी गरेर जीविकोपार्जन गर्ने सदाय समुदायका अधिकांश परिवारसँग न त आफ्नो नाममा जमिन छ, न त स्थायी बसोबास नै। अरूको ऐलानी वा सार्वजनिक जग्गामा कष्टकर जीवन बिताइरहेका उनीहरूका लागि शौचालय बनाउने ठाउँ र आर्थिक स्रोत जुटाउनु मुख्य समस्या बनेको छ।

स्थानीय एक अनुभवी अगुवाका अनुसार अभियान निकै प्रशंसनीय भए पनि लक्षित वर्गसम्म पुग्न नगरपालिकाले नीतिगत सहजता ल्याउनु आवश्यक छ। उनी भन्छन्, "सदाय समुदायका मानिसहरूसँग आफ्नै स्वामित्वको जग्गा र सम्पत्ति केही छैन। यस्तो अवस्थामा उनीहरूलाई मात्र जनचेतना दिएर शौचालय बन्न सक्दैन। नगरपालिकाले विपन्न तथा भूमिहीन सदाय बस्तीहरूको पहिचान गरी सुरक्षित स्थानमा स्थानान्तरण वा सामूहिक शौचालयसहितको आवास व्यवस्था मिलाइदिन सके मात्र अभियानले पूर्ण सार्थकता पाउनेछ।"

नगरपालिकाको यो अभियानले समग्र नगरलाई खुला दिसामुक्त र स्वच्छ बनाउन ठूलो भूमिका खेलिरहेको भए पनि सदाय जस्ता सीमान्तकृत समुदायको जमिन र आवासको समस्या सम्बोधन नगरेसम्म अभियान पूर्ण हुन नसक्ने उनको भनाइ छ।

.singleRelatedNews a { font: 400 20px/32px 'Mukta', sans-serif; color: #00ba96; }

प्रतिक्रिया दिनुहोस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्