मातृ तथा नवजात शिशु स्वास्थ्य सुधारमा जनशक्ति र सेवाको तयारी कमजोर
असोज १, २०८३ · रहमुल
रहमुल, लहान, १ असोज । सिरहामा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहे पनि स्वास्थ्य संस्थाको सेवा तयारी, दक्ष जनशक्ति, उपकरणको उपयोग, रेफरल प्रणाली र प्रसूतिपछिको सेवामा अझै गम्भीर कमजोरी रहेको पाइएको छ।
स्थानीय सरकारसँगको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य (MNH) सेवा सुदृढीकरणसम्बन्धी जिल्ला परियोजना परामर्श बैठकमा प्रस्तुत गरिएको विवरणले जिल्लाका अधिकांश स्थानीय तहका स्वास्थ्य संस्थामा ANC/PNC सेवाका लागि आवश्यक नर्सिङ जनशक्ति अभाव, बर्थिङ सेन्टरमा २४ घण्टा सेवा उपलब्ध नहुनु, उपलब्ध उपकरणसमेत पूर्ण रूपमा सञ्चालनमा नआउनु र प्रसूति सेवाको तयारी कमजोर रहेको देखाएको हो। जिल्ला समन्वय समिति (जिसस) सिरहाका प्रमुख तथा गैरसरकारी संस्था (गैसस) सल्लाहकार समिति संयोजक दिनेश महतोको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य कार्यालयका प्रतिनिधि, स्थानीय तहका स्वास्थ्य शाखाका कर्मचारी, गैरसरकारी संस्था तथा सरोकारवाला संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता थियो।
One Heart World-Wide को सहयोग तथा Hope Foundation Nepal को आयोजनामा भएको कार्यक्रममा जिल्लाका विभिन्न स्वास्थ्य संस्थाको सेवा तयारी, मातृ तथा नवजात स्वास्थ्यसम्बन्धी सेवा, मानवस्रोत, पूर्वाधार, उपकरण, रेफरल प्रणाली तथा सेवा उपयोगको अवस्थाबारे प्रस्तुतिकरण गरिएको थियो। परियोजना विवरणअनुसार सिरहाका धेरै बर्थिङ सेन्टरमा प्रसूति सेवा सञ्चालनका लागि आवश्यक नर्सिङ जनशक्ति पर्याप्त छैन। कतिपय स्वास्थ्य संस्थामा २४ घण्टा नर्सिङ सेवा उपलब्ध नभएकाले रातिको समयमा प्रसूति सेवा लिन आउने महिलालाई समस्या हुने अवस्था देखिएको छ। उपकरण छन्, सेवा छैन
स्वास्थ्य संस्थामा उपकरण उपलब्ध भए पनि त्यसको प्रभावकारी उपयोग हुन नसकेको विषयसमेत बैठकमा उठाइएको छ। विशेषगरी ROUSG (Roaming USG) सेवाका लागि मेसिन उपलब्ध भए पनि कतिपय स्थानमा सेवा सञ्चालन हुन नसकेको परियोजनाले जनाएको छ। लहान नगरपालिकामा तीनवटा ROUSG मेसिन उपलब्ध भए पनि रोमिङ सेवा सञ्चालन हुन नसकेको विवरण प्रस्तुत गरिएको छ। सिरहा नगरपालिकाको भलुवाही स्वास्थ्य चौकीमा पनि ROUSG मेसिन उपलब्ध भए तापनि रोमिङ सेवा सुचारु नभएको उल्लेख छ। यसले स्वास्थ्य क्षेत्रमा उपकरण खरिद तथा हस्तान्तरण मात्रै पर्याप्त नभई त्यसको नियमित सञ्चालनका लागि दक्ष जनशक्ति, तालिम, जिम्मेवारी र व्यवस्थापन प्रणाली आवश्यक रहेको देखाएको छ।
लहान नगरपालिकाका बर्थिङ सेन्टरमा २४ घण्टा नर्सिङ कर्मचारी उपलब्ध नभएको र ANC/PNC सेवा प्रदान गर्न आवश्यक जनशक्तिको अभाव रहेको परियोजना मूल्यांकनमा उल्लेख छ। स्थायी नर्सिङ कर्मचारीमा उत्प्रेरणाको कमी, जिम्मेवारीबाट पन्छिने प्रवृत्ति तथा रातिको समयमा सेवा दिन अनिच्छा देखिएकोसमेत प्रस्तुतिमा उल्लेख गरिएको छ। लहान स्वास्थ्य चौकीको MSS स्कोर ६६ प्रतिशत र आर्थिक वर्ष २०८२/८३ मा संस्थागत प्रसूति संख्या १८ रहेको विवरण प्रस्तुत गरिएको छ। चारापट्टी स्वास्थ्य चौकीको MSS स्कोर ४९ प्रतिशत रहेको र सो अवधिमा संस्थागत प्रसूति संख्या शून्य देखाइएको छ।
धनगढीमाई नगरपालिकाका स्वास्थ्य संस्थामा पनि २४ घण्टा नर्सिङ सेवा, ANC/PNC का लागि आवश्यक जनशक्ति तथा दक्ष स्वास्थ्यकर्मी र उपकरणको अभाव देखाइएको छ। विष्णुपुरकट्टी स्वास्थ्य चौकीको MSS स्कोर ६४ प्रतिशत र संस्थागत प्रसूति संख्या १४ रहेको छ भने नयनपुर अस्पतालमा संस्थागत प्रसूति संख्या १८३ रहेको विवरण छ।
मिर्चैया नगरपालिकामा ANC/PNC सेवाका लागि आवश्यक नर्सिङ जनशक्तिको अभावसँगै प्रसव कक्षभित्रको तयारी र व्यवस्थापनमा कमजोरी रहेको उल्लेख गरिएको छ। डेलिभरी सेट, EPI सेट तथा ड्रेसिङ सेटको तयारी र व्यवस्थापनमा आधारभूत सीप तथा अभ्यास सुधार गर्नुपर्ने देखिएको परियोजनाले जनाएको छ। मिर्चैया अस्पतालको MSS स्कोर ६९ प्रतिशत र संस्थागत प्रसूति संख्या १ हजार ८२ रहेको तथ्यांक प्रस्तुत गरिएको छ। कर्जन्हा नगरपालिकामा पनि ANC/PNC सेवाका लागि नर्सिङ जनशक्ति अभाव, उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग नहुनु तथा उपकरणको कमी रहेको उल्लेख छ। गौतरी स्वास्थ्य चौकीको MSS स्कोर ५५ प्रतिशत र संस्थागत प्रसूति संख्या ३२ रहेको छ।
कल्याणपुर स्वास्थ्य चौकीको MSS स्कोर ५२ प्रतिशत र संस्थागत प्रसूति संख्या १९१ रहेको विवरण प्रस्तुत गरिएको छ। सिरहा नगरपालिकाको भलुवाही स्वास्थ्य चौकीको MSS स्कोर ७५ प्रतिशत र संस्थागत प्रसूति संख्या ६७ रहेको छ।
विष्णुपुर गाउँपालिकामा स्वास्थ्य संस्थाको भवन लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको र अपूर्ण भवनका कारण सेवा व्यवस्थापनमा समस्या रहेको उल्लेख गरिएको छ। बर्थिङ सेन्टरसम्म पुग्ने बाटो तथा रेफरलका लागि एम्बुलेन्सको उपलब्धतासमेत चुनौतीका रूपमा प्रस्तुत गरिएको छ। नरहा गाउँपालिकाको बर्चवा स्वास्थ्य चौकीमा पर्याप्त SBA तालिम प्राप्त नर्सिङ कर्मचारी नभएको, उपलब्ध डेलिभरी बेड तथा औषधिलगायत स्रोतसाधनको प्रभावकारी उपयोग हुन नसकेको र सेवा व्यवस्थापन कमजोर रहेको उल्लेख गरिएको छ।
त्यहाँ प्रसूति सेवा लिन आएका अधिकांश गर्भवती महिलालाई उच्च तहको स्वास्थ्य संस्थामा रेफर गर्ने अवस्था रहेको र बर्थिङ सेन्टरमा Placenta Pit समेत नभएको परियोजना विवरणमा उल्लेख छ। बर्चवा स्वास्थ्य चौकीको MSS स्कोर ४८ प्रतिशत र संस्थागत प्रसूति संख्या २५ रहेको छ। सुखीपुर नगरपालिकामा पनि SBA तालिम प्राप्त पर्याप्त नर्सिङ कर्मचारीको अभाव, स्रोतसाधनको कमजोर उपयोग, स्थायी नर्सिङ कर्मचारीमा सेवा प्रवाहप्रतिको उत्प्रेरणाको कमी तथा उपकरण र सामग्रीको sterilization र autoclave प्रयोगसम्बन्धी अभ्यास कमजोर रहेको उल्लेख गरिएको छ। सुखीपुर अस्पतालको MSS स्कोर ५० प्रतिशत र संस्थागत प्रसूति संख्या ८० रहेको छ।
अर्नामा गाउँपालिकामा भवनको कमी, दक्ष जनशक्ति तथा आवश्यक उपकरण र सेवा तयारीमा कमजोरी रहेको उल्लेख गरिएको छ। महनौर स्वास्थ्य चौकीको MSS स्कोर ६३ प्रतिशत र संस्थागत प्रसूति संख्या १४८ तथा अर्नामा अस्पतालको MSS स्कोर ६९ प्रतिशत र संस्थागत प्रसूति संख्या १५५ रहेको विवरण प्रस्तुत गरिएको छ। लक्ष्मीपुर पतारी गाउँपालिकाका बर्थिङ सेन्टरमा प्रसूति सेवा प्रदान गर्न SBA तालिम प्राप्त एक जना नर्सिङ कर्मचारी मात्र उपलब्ध रहेको उल्लेख गरिएको छ। दक्ष जनशक्ति, उपकरण तथा सेवा तयारीमा सुधार आवश्यक रहेको परियोजनाको निष्कर्ष छ। पिप्रा स्वास्थ्य चौकीको MSS स्कोर ८४ प्रतिशत र संस्थागत प्रसूति संख्या ३९ तथा सितापुर स्वास्थ्य चौकीको MSS स्कोर ७० प्रतिशत र संस्थागत प्रसूति संख्या ३७ रहेको छ।
सखुवानन्कारकट्टी गाउँपालिकामा प्रसूति सेवा प्रदान गर्न स्वास्थ्य चौकीमा २४ घण्टा नर्सिङ कर्मचारी उपलब्ध नभएको, प्रसूति कक्षमा आवश्यक उपकरण तथा सेट तयारी अवस्थामा राख्ने र उचित व्यवस्थापन गर्ने अभ्यास कमजोर रहेको उल्लेख गरिएको छ। बर्थिङ सेन्टरमा Placenta Pit नभएको तथा ६० भन्दा बढी महिला स्वास्थ्य स्वयंसेविका (FCHV) पदपूर्ति/प्रतिस्थापन गर्न कठिनाइ भइरहेको विवरणसमेत प्रस्तुत गरिएको छ। साथै रेफरल तथा एम्बुलेन्स सेवामा सुधार आवश्यक रहेको औंल्याइएको छ। मौवाही स्वास्थ्य चौकीको MSS स्कोर ४९ प्रतिशत र आर्थिक वर्ष २०८२/८३ मा संस्थागत प्रसूति संख्या ३४ रहेको छ।
भगवानपुर गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रमा MNH सेवा प्रदान गर्न आवश्यक आधारभूत आकस्मिक औषधिको व्यवस्थापन, बर्थिङ सेन्टरबाहेकका स्वास्थ्य संस्थामा ANC/PNC सेवाको गुणस्तर तथा व्यवस्थापन र ROUSG सेवा सञ्चालनमा सुधार आवश्यक रहेको परियोजनाले जनाएको छ। भगवानपुर PHC को MSS स्कोर ७१ प्रतिशत र संस्थागत प्रसूति संख्या ८० रहेको छ। नवराजपुर गाउँपालिकामा प्रसूति सेवा लिन आएका अधिकांश गर्भवती महिलालाई उच्च तहको स्वास्थ्य संस्थामा रेफर गर्ने अवस्था रहेको उल्लेख गरिएको छ। ANC/PNC सेवाका लागि आवश्यक नर्सिङ कर्मचारीको अभाव तथा autoclave र उपकरणको उचित sterilization प्रक्रियामा कमजोरी देखिएको छ। नवराजपुर अस्पतालको MSS स्कोर २३ प्रतिशत र संस्थागत प्रसूति संख्या ६२ रहेको विवरण प्रस्तुत गरिएको छ।
बरियारपट्टी र औरहीमा पनि सेवा तयारी कमजोर बरियारपट्टी गाउँपालिकाको बर्थिङ सेन्टरमा एक जना नर्सिङ कर्मचारी मात्र उपलब्ध रहेको, अन्य स्वास्थ्य संस्थामा गुणस्तरीय ANC/PNC सेवाका लागि नर्सिङ जनशक्तिको अभाव रहेको तथा Placenta Pit नभएको उल्लेख गरिएको छ। Waste Management Pit को निर्माणसमेत पूर्ण नभएको परियोजना विवरणमा छ। बरियारपट्टी स्वास्थ्य चौकीको MSS स्कोर ६७ प्रतिशत र संस्थागत प्रसूति संख्या १३१ रहेको छ। औरही गाउँपालिकामा Placenta Pit उपलब्ध भए पनि त्यहाँसम्म पुग्ने बाटो तथा पहुँचको समस्या रहेको उल्लेख गरिएको छ। बर्थिङ सेन्टरमा पर्याप्त SBA तालिम प्राप्त नर्सिङ कर्मचारीको अभाव तथा गाउँघर क्लिनिक सञ्चालनमा समस्या रहेको विवरण प्रस्तुत गरिएको छ। औरही अस्पतालको MSS स्कोर ६६ प्रतिशत र संस्थागत प्रसूति संख्या १२६ रहेको छ।
Hope Foundation Nepal ले पाँच वर्षको अवधिमा स्थानीय तहको योजना र आवश्यकता पहिचान, लागत साझेदारी तथा प्राविधिक सहयोगमार्फत मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुधार गर्ने लक्ष्य राखेको जनाएको छ। परियोजनाका अनुसार हालसम्म १५ वटा बर्थिङ सेन्टरलाई व्यवस्थापनसम्बन्धी अभिमुखीकरण, १० वटा बर्थिङ सेन्टरमा उपकरण सहयोग तथा चार पालिकामा ROUSG सेवा सञ्चालनका लागि मेसिन र तालिममा सहयोग गरिएको छ।
त्यसैगरी ३२ वटा गैर–प्रसूति स्वास्थ्य चौकीमा MSS सम्बन्धी कार्यक्रम, पालिका तहमा PNC समीक्षा तथा FCHV र स्वास्थ्यकर्मी बैठक, स्वास्थ्य कार्यालयसँग वार्षिक समीक्षा, जिल्लास्तरीय MSS समीक्षा, Data Pro अभिमुखीकरण तथा RHCC बैठकजस्ता कार्यक्रम सञ्चालन गरिएको विवरण बैठकमा प्रस्तुत गरिएको थियो। WaterAid, DJKYC तथा लहान नगरपालिकालगायत विकास साझेदार र स्थानीय सरकारसँग सहकार्य तथा नेटवर्किङ गरिएको तथा सशर्त बजेटको उपयोग र तालिम सञ्चालनमा समेत समन्वय गरिएको परियोजनाले जनाएको छ।
परियोजनाले प्रस्तुत गरेको बजेट तथा खर्च विवरणले कार्यक्रमगत खर्चमा पनि असमानता देखाएको छ। आर्थिक वर्ष २०२५ मा कुल कार्यक्रम बजेट ४० लाख ७३ हजार ४७९ रुपैयाँ रहेकोमा ३० लाख ८२ हजार ८२० रुपैयाँ अर्थात् ७६ प्रतिशत खर्च भएको विवरण छ। २०२६ का लागि ३७ लाख ४३ हजार २५३ रुपैयाँ ३३ पैसा कार्यक्रम बजेट रहेकोमा जुन २०२६ सम्म १५ लाख ५३ हजार ३५० रुपैयाँ २० पैसा अर्थात् ४१ प्रतिशत खर्च भएको उल्लेख गरिएको छ।
त्यस्तै MNH सेवाको माग वृद्धि शीर्षकमा २०२५ को बजेटभन्दा खर्च बढी भएको देखिन्छ भने २०२६ मा सोही शीर्षकको खर्च निकै न्यून रहेको विवरण प्रस्तुत गरिएको छ। स्वास्थ्य प्रणाली सुदृढीकरण, सेवा प्रवाह वृद्धि, क्षमता विकास, सेवा गुणस्तर सुधार तथा समन्वय–अनुगमनका शीर्षकमा पनि बजेट र खर्चको अवस्था फरक–फरक रहेको छ। परियोजनाको प्रस्तुतिले बाह्य साझेदार संस्थाले आर्थिक, प्राविधिक, उपकरण तथा क्षमता विकासमा सहयोग गरिरहे पनि स्थानीय तहबाट उपलब्ध स्रोत तथा सशर्त अनुदानको प्रभावकारी उपयोग, जनशक्ति व्यवस्थापन र सेवा सञ्चालनमा थप गम्भीरता आवश्यक रहेको संकेत गरेको छ।
जिल्लाका अधिकांश स्थानीय तहमा स्वास्थ्य संस्था र बर्थिङ सेन्टर स्थापना गरिए पनि सेवा सञ्चालनका आधारभूत पक्षमै कमजोरी रहनुले मातृ तथा नवजात स्वास्थ्य सेवाको पहुँच र गुणस्तरबारे प्रश्न उठाएको छ। स्वास्थ्य संस्था नजिकै हुँदाहुँदै पनि पर्याप्त जनशक्ति, २४ घण्टा सेवा, उपकरण सञ्चालन, एम्बुलेन्स तथा रेफरल प्रणाली प्रभावकारी नहुँदा गर्भवती महिलाले अन्य जिल्ला वा निजी अस्पतालमा जानुपर्ने अवस्था सिर्जना हुन सक्ने बैठकमा प्रस्तुत विवरणले देखाएको छ। यसबाट परिवारमाथि थप आर्थिक भार पर्न सक्ने अवस्था छ। परियोजनाले उपकरण उपलब्ध गराउने, स्वास्थ्यकर्मीको क्षमता विकास गर्ने तथा प्राविधिक सहयोग गर्ने प्रयास गरिरहे पनि ती पूर्वाधार र सहयोगलाई नियमित सेवामा रूपान्तरण गर्ने मुख्य जिम्मेवारी स्थानीय स्वास्थ्य प्रणालीकै रहेको देखिन्छ।
बैठकमा स्थानीय तह, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, गैरसरकारी संस्था तथा अन्य सरोकारवालाबीच समन्वय र सहकार्य बढाउँदै २४ घण्टा प्रसूति सेवा, आवश्यक नर्सिङ जनशक्ति, उपकरणको प्रभावकारी सञ्चालन, सुरक्षित प्रसूति तयारी, प्रभावकारी रेफरल तथा एम्बुलेन्स सेवा र प्रसूतिपछिको PNC पहुँच सुधार गर्नुपर्नेमा जोड दिइएको थियो। मातृ तथा नवजात शिशुको स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा भवन र उपकरण थप्नेभन्दा पनि उपलब्ध स्रोतसाधनलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने, दक्ष जनशक्ति सुनिश्चित गर्ने र सेवाको वास्तविक पहुँच बढाउनेतर्फ स्थानीय सरकारको प्राथमिकता केन्द्रित हुनुपर्ने बैठकमा प्रस्तुत तथ्यांकले देखाएको छ।
.singleRelatedNews a { font: 400 20px/32px 'Mukta', sans-serif; color: #00ba96; }प्रतिक्रिया दिनुहोस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया दिनुहोस्
अहिले सम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
