संविधान दिवस मनाउन सिरहामा मूल समारोह समिति गठन, असोज २ र ३ गते विविध कार्यक्रम गरिने

असोज १, २०८३ · रहमुल

शेयर गर्नुहोस् 0 Shares
alt

रहमुल, लहान, १ असोज । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ विविध कार्यक्रमसहित मनाउन सिरहामा जिल्ला स्तरीय मूल समारोह समिति गठन गरिएको छ। जिल्ला समन्वय समिति (जिसस) सिरहाका प्रमुख दिनेश महतोको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, समाजसेवी, बुद्धिजीवी, नागरिक समाज तथा अन्य सरोकारवालाहरूको सहभागितामा समिति गठन गरिएको हो।

मूल समारोह समितिको बैठकले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आगामी असोज २ र ३ गते जिल्लाभर विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। दिवसलाई भव्य, सभ्य तथा प्रभावकारी रूपमा मनाउन जिल्ला तथा स्थानीय तहका निकायबीच आवश्यक समन्वय गर्ने निर्णय समेत गरिएको छ। बैठकले स्थानीय तहका प्रमुख तथा अध्यक्षको अध्यक्षतामा स्थानीय तहस्तरीय समारोह समिति गठन गरी वडा तहसम्म विभिन्न कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ। स्थानीय सामाजिक तथा राजनीतिक संघसंस्था, समाजका विभिन्न वर्ग र क्षेत्रका नागरिकको सहभागितामा खेलकुद, सरसफाइ, झाँकी प्रदर्शनलगायतका विविध कार्यक्रम आयोजना गर्न आग्रह गरिएको छ।

संविधान दिवसका अवसरमा जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक तथा सामुदायिक संघसंस्था, शैक्षिक प्रतिष्ठान तथा निकायका छत, बरन्डा र परिसरमा निर्धारित आकारका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखेर सजाउन अनुरोध गर्ने निर्णय भएको छ। असोज २ र ३ गते साँझ सरकारी तथा सार्वजनिक संस्थासँगै जिल्लावासीका घरघरमा दीपावली गर्नसमेत आग्रह गरिएको छ। त्यसैगरी, असोज ३ गते बिहान ८ बजे प्रादेशिक अस्पताल सिरहामा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गर्ने कार्यक्रम तय गरिएको छ। उक्त कार्यक्रम उद्योग वाणिज्य संघ सिरहाको समन्वयमा सञ्चालन गरिने जनाइएको छ।

दिवसको अवसरमा स्थानीय विद्युतीय तथा छापा सञ्चारमाध्यममार्फत संविधान दिवस तथा राष्ट्रिय दिवससँग सम्बन्धित विशेष समाचार, परिसंवाद, रेडियो नाटक तथा जनचेतनामूलक कार्यक्रम प्रसारण तथा प्रकाशन गर्न नेपाल पत्रकार महासंघ सिरहा शाखालाई अनुरोध गर्ने निर्णयसमेत गरिएको छ। असोज ३ गते साँझ ७ बजे सिरहा नगरपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालयअगाडि रहेको पार्कमा दीप प्रज्वलन गरिने भएको छ। त्यस्तै, सोही दिन बिहान १० बजे नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सहयोगमा सिरहा नगरपालिका–१२ स्थित सारसर धाममा सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ। संविधान दिवसकै अवसरमा सिरहा बहिरा संघ विद्यालयका विद्यार्थीहरूका लागि खेलकुद सामग्री उपलब्ध गराई विशेष कार्यक्रम आयोजना गर्न सिरहा नगरपालिकालाई अनुरोध गर्ने निर्णय भएको छ। यसैगरी, जिल्ला कारागार कार्यालय सिरहाले सम्बन्धित संस्थासँग समन्वय गरी कारागारमा रहेका कैदीबन्दीका लागि एकदिने योग शिविर सञ्चालन गर्ने निर्णय गरिएको छ।

मूल समारोह समितिले संविधान दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नराखी स्थानीय तहदेखि वडा तहसम्म नागरिकको सहभागिता बढाउने गरी विविध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। सरसफाइ, खेलकुद, दीप प्रज्वलन, झाँकी प्रदर्शन, सञ्चारमाध्यममार्फत जनचेतनामूलक कार्यक्रम तथा सामाजिक सेवाका गतिविधिलाई दिवसका कार्यक्रमसँग जोडिएको छ। समितिका अनुसार असोज २ र ३ गते आयोजना हुने कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, सञ्चार क्षेत्र, सामाजिक संघसंस्था तथा नागरिकबीच समन्वय गरिनेछ।

.singleRelatedNews a { font: 400 20px/32px 'Mukta', sans-serif; color: #00ba96; }

प्रतिक्रिया दिनुहोस

ट्यागहरू: siraha_id:8618 रहमुल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्