करणको ब्याटिङमा काठमान्डु गोर्खाजको दोस्रो जित
गोर्खाजले पहिले ब्याटिङ गर्दै १५७ रन बनायो भने लुम्बिनी १३५ रनमै समेटिँदा २२ रनको जित दर्ता गर्यो, बलरको उत्कृष्ट प्रदर्शन देखियो ।
काठमाडौँ — काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा दोस्रो विजय हात पारेको छ । काठमान्डुले मंगलबार लुम्बिनी लायन्सलाई २२ रनले पराजित गर्यो ।
टस हारेपछि ब्याटिङको निम्तो पाएको गोर्खाजले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ५७ रन बनाएको थियो । जवाफमा आएको लुम्बिनी १९.१ ओभरमा १ सय ३५ रनमा अलआउट भयो ।
काठमान्डुबाट मिलिन्द कुमार र जेहर्राड इरसमसले २–२ विकेट लिए । मिलिन्दुले ४ ओभरमा १८ र इरसमसले ४ ओभरमा २७ रन खर्चे । करण, शाहव आलम र रसिद र सन्तोष यादवले १–१ विकेट लिए ।
ओपनरद्वय सन्दीप जोरा ७ र डी’ आरसी शट ११ बलमा ३ चौका र १ छक्का प्रहार गरी २२ रनमा आउट भए । दुबैलाई मिलिन्दले आउट गरे । इरसमले कप्तान रोहित पौडेललाई ११ रनमा एबलीडब्लु आउट गरे । गुलबदिन नैब पनि ११ रनमै शाहब आलमको बलमा आउट भए ।
दिलीप नाथले २५ रन बनाए । उनले ३३ बल खेली समान १ चौका र छक्का प्रहार गरे । शेर मल्लले १८ बल खेली २७ रन बनाए । उनले शाहवको बलमा लगातार ३ छक्का प्रहार गरेका थिए । जेजे स्मिट ८, सुमित महर्जन शून्य, रुबेन ट्रम्पलमन ३ र अभिषेक गौतम ४ रनमा आउट भए । तिलक भण्डारी ६ रनमा अविजित रहे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?