चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आर्थिक वृद्धिदर ४.०५ प्रतिशत, ऊर्जा क्षेत्रको योगदान उच्च

शेयर गर्नुहोस् 0 Shares

राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक (कार्तिक, मंसिर र पुस) को राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर ४.०५ प्रतिशत रहने प्रारम्भिक अनुमान गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा मापन गरिएको यो वृद्धिदरले अर्थतन्त्रका विभिन्न क्षेत्रहरू बिस्तारै चलायमान हुँदै गएको संकेत गरेको छ।

तथ्यांक अनुसार यस अवधिमा विद्युत् उत्पादन र वितरणमा भएको उल्लेख्य विस्तारका कारण विद्युत् तथा ग्यास क्षेत्रमा सबैभन्दा बढी २२.७४ प्रतिशतको उच्च वृद्धिदर हासिल भएको छ। त्यसैगरी, निक्षेप संकलन, ऋण प्रवाह र बीमा प्रिमियममा भएको सुधारले वित्तीय तथा बीमा क्षेत्रमा १२.५१ प्रतिशत र यातायात तथा भण्डारण क्षेत्रमा ९.६५ प्रतिशतको उत्साहजनक वृद्धि देखिएको छ।

अर्थतन्त्रको मुख्य हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रमा भने २.२१ प्रतिशतको सामान्य वृद्धि हुने अनुमान छ। धान उत्पादनमा केही गिरावट आए तापनि पशुजन्य उत्पादन, फलफूल र तरकारीको उत्पादनमा भएको बढोत्तरीले कृषि क्षेत्रलाई सकारात्मक दिशामा राखेको देखिन्छ। यस्तै, थोक तथा खुद्रा व्यापार क्षेत्रमा ४.११ प्रतिशत र आवास तथा भोजन सेवामा ५.१८ प्रतिशतको वृद्धिदर कायम भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्


अहिले सम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।