भुइँमा बस्दै पढ्छन् सप्तरीका विद्यार्थी, स्थानीय र केन्द्र सरकार दुवै बेखबर
रोशन यादव / सप्तरी, २१ जेठः सप्तरी जिल्लाको मौवाहा बलान बिहुल–३ स्थित श्री राजेश्वरी माध्यमिक विद्यालयमा भौतिक पूर्वाधारको अत्यन्त दयनीय अवस्थाले विद्यार्थीहरू भुइँमा बसेर पढ्न बाध्य छन्। एउटै बेन्चमा पाँच–पाँच जना विद्यार्थीलाई च्यापेर बसाउनुपर्ने बाध्यताले चर्को गर्मीमा समेत पठनपाठन जारी छ।
विद्यालयमा पर्याप्त कक्षाकोठा, फर्निचर र आधारभूत सुविधाको अभाव रहेको स्थानीयहरू बताउँछन्। यस्तो अवस्थामा बालबालिकाले गुणस्तरीय शिक्षा पाउने कुरा सुदूर सपनाजस्तै भएको छ।
यो समस्या केवल राजेश्वरी माविमा मात्र सीमित छैन। मधेश प्रदेशका विभिन्न स्थानीय तहमा सामुदायिक विद्यालयहरू उपेक्षाको मारमा परेका छन्। स्थानीय सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकता नदिएको भन्दै अभिभावक र शिक्षकहरूले आक्रोश व्यक्त गरेका छन्। अर्कोतिर, केन्द्र सरकारको ध्यानसमेत यस क्षेत्रका सामुदायिक विद्यालयतर्फ खासै नगएको देखिन्छ।
शिक्षाविद्हरूका अनुसार, न्यूनतम भौतिक पूर्वाधारविना गुणस्तरीय शिक्षा सम्भव छैन। बेन्च–डेस्क, उचित कक्षाकोठा र शौचालयजस्ता आधारभूत सुविधासमेत नभएका विद्यालयमा पठाउन बाध्य अभिभावकहरूको पीडा झनै गहिरो छ।
सरोकारवाला निकायले तत्काल ध्यान नदिए मधेश प्रदेशको शिक्षा क्षेत्र झनै पछाडि पर्ने चेतावनी शिक्षकहरूले दिएका छन्।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
जम्मा प्रतिक्रिया: 1
