घलेटोल मुसहर बस्तीमा नयाँ बिहानी : २० विपन्न परिवार पक्की घर पाएपछि खुसीयाली
रहमुल, लहान, ८ जेठ ।
सिरहाको लहान नगरपालिका–१३ स्थित घलेटोल मुसहर बस्ती शुक्रबार खुसी र उत्साहले भरिएको छ । वर्षौंदेखि फुसको झुप्रोमा कष्टकर जीवन बिताइरहेका २० सुकुमवासी मुसहर परिवारले अब सुरक्षित र व्यवस्थित पक्की घर पाएका छन् ।
लहान नगरपालिका को “विपन्नका लागि सुरक्षित आवास कार्यक्रम” अन्तर्गत निर्माण गरिएका घरहरू नगरप्रमुख महेशप्रसाद चौधरी ले एक विशेष कार्यक्रमबीच हस्तान्तरण गरेका हुन् ।
वर्षायाममा चुहिने छानो, हिउँदमा कठ्याङ्ग्रिने चिसो र साँघुरो झुप्रोभित्र असुरक्षित जीवन बिताउन बाध्य स्थानीय परिवारहरूका लागि यो कार्यक्रम केवल घर प्राप्ति नभई सम्मानित र सुरक्षित जीवनतर्फको नयाँ सुरुवात बनेको छ । स्थानीयवासीका अनुसार पुस्तौँदेखि अभाव र असुरक्षामा बाँचिरहेका मुसहर समुदायले पहिलोपटक स्थायी आश्रयको अनुभूति गरेका छन् ।
नवनिर्मित प्रत्येक घरमा दुईवटा बस्ने कोठा र एउटा भान्सा कोठा रहेको छ । घरमाथि जस्तापाता लगाइएको छ भने बाँसको संरचनामा प्लास्टर गरी मजबुत ढंगले निर्माण गरिएको छ । प्राविधिकहरूका अनुसार यी घरहरूको आयु ३० वर्षभन्दा बढी रहने अनुमान गरिएको छ ।
यस परियोजनामा लहान नगरपालिका ले ६९ लाख ४ हजार ५ सय ९६ रुपैयाँ लगानी गरेको छ भने Habitat for Humanity Nepal ले १६ लाख ६६ हजार ६ सय ९६ रुपैयाँ सहयोग गरेको जनाएको छ । साथै लाभग्राही परिवारहरूको करिब साढे २१ लाख रुपैयाँ बराबरको श्रमदान र भवानी एकीकृत विकास केन्द्र को प्राविधिक सहयोगमा घर निर्माण सम्पन्न गरिएको हो ।
घर हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख महेशप्रसाद चौधरी ले विपन्न र सुकुमवासी समुदायलाई सुरक्षित आवास उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व भएको बताए । उनले राज्यले गरिब, दलित र विपन्न समुदायको जीवनस्तर सुधार गर्न प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै यस्तो अभियानलाई निरन्तरता दिइने बताए ।
नगरप्रमुख चौधरीका अनुसार लहान नगरपालिकाले वडा नम्बर १२, १३, १५, २१ र २२ लगायत क्षेत्रमा हालसम्म दुई सयभन्दा बढी घर निर्माण गरिसकेको छ । आगामी दिनमा पनि आवाससँगै शिक्षा, स्वास्थ्य र रोजगारीका कार्यक्रमलाई प्राथमिकतामा राखिने उनले बताए ।
घरको साँचो बुझ्दै गर्दा धेरै स्थानीय भावुक बनेका थिए । वर्षौंदेखिको पीडा अन्त्य भएको अनुभूति गर्दै कतिपय वृद्धवृद्धाले खुसीका आँसु झारे । एक स्थानीय वृद्धाले भनिन्, “अब बर्खामा रातभरि पानी थापेर बस्नुपर्दैन, बालबच्चाको चिन्ता पनि हट्यो ।”
कार्यक्रममा सहभागी स्थानीयहरूले नगरप्रमुख चौधरीलाई “विपन्नको सहारा” भन्दै प्रशंसा गरेका थिए । घलेटोल मुसहर बस्तीमा देखिएको उल्लासपूर्ण वातावरणले सामाजिक न्याय र जनमुखी विकासप्रति स्थानीय सरकारको प्रतिबद्धता झल्किएको सहभागीहरूको भनाइ थियो ।
पछिल्लो समय लहान नगरपालिका ले दलित, सुकुमवासी तथा विपन्न समुदाय लक्षित कार्यक्रमलाई तीव्रता दिएको छ । स्थानीय बुद्धिजीवीहरूका अनुसार सुरक्षित आवास अभियानले केवल घर निर्माण मात्र होइन, विपन्न समुदायमा आत्मविश्वास, सुरक्षा र सम्मानको भावना समेत विकास गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
